add

पुँजी बजारमा छायो रौनक, नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकममा पनि नयाँ माहोल

Image result for nepse
काठमाडौं :
पुँजी बजारमा फेरि नयाँ माहोल आएको छ । नयाँ वर्षसँगै बजारले नयाँ गति लिन थालेको छ । कारोबार रकम र नेप्से सूचक दुवैमा आकर्षक वृद्धि भइरहेको छ । बजार अब दिगो सुधारतर्फ अघि बढेको लगानीकर्ताको बुझाई रहेको छ । निरन्तर भाउ घट्दा सूचीकृत कम्पनीहरुको सेयर भाउ निकै सस्तो भइसकेको थियो । सस्तो मूल्यमा लगानीकर्ता आकर्षित भएपछि बजारले नयाँ गति समाएको हो ।

बढ्दो सूचकलाई खरिदबिक्री रकमले पनि साथ दिएको छ । किनबेच रकममा समेत उत्साह थपिएपछि दिगो विकासको अपेक्षा गरिएको हो । नयाँ वर्ष लागेसँगै सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण आउने क्रम सुरु भएको छ । वित्तीय विवरणले औसतमा नाफा राम्रो हुने संकेत गरिरहेको छ । कम्पनीहरुले राम्रो नाफा कमाउने र आकर्षक लाभांश वितरण गर्ने अपेक्षामा लगानीकर्ता रहेका छन् । यसले पनि बजार माथि लैजान  सहयोग गरेको हो । 
 
यसैगरी, चालु आर्थिक वर्षको अब अन्तिम ३ महिनामात्र बाँकी छ । यतिबेला सरकारी ढुकुटीमा थन्किएको पैसा धमाधम बजारमा आउन थाल्छ । अन्तिम समयमा काम गर्ने र बजेट निकासा गर्ने परम्परा यसपटक पनि दोहोरिएको छ । नयाँ बजेट आउने बेलामा चालु आवको विकास निर्माणका काम धमाधम सक्ने र पैसा निकासा गर्ने प्रवृत्ति बढ्छ । यसर्थ, यतिबेला तरलता सहज हुने विश्लेषण छ । यसले पनि बजारलाई माथि लैजान सहयोग पुग्ने छ । 
 
पुँजी बजार निरुन्तर सुधारको गतिमा छ । कानुनी तथा नीतिगत कमीकमजोरी सुधार गर्ने काम भइरहेको छ । गाउँगाउँमा ब्रोकर सेवा पुग्दैछ । लिलामी सेयर उपत्यका बाहिरबाट पनि भर्न पाइन्छ । आस्वा प्रणालीका कारण सेयरमा आवेदन दिन सजिलो भएको छ । यसबाट नयाँ लगानीकर्ता बजारमा थपिने विश्वास गर्न सकिन्छ । 
 
पुँजी बजार सुधारको महत्वपूर्ण पक्ष बैंक ब्याजदर हो । विस्तारै ब्याजदर घट्ने अनुमानहरु भइरहेका छन् । ब्याजदर घट्न सक्यो भने सेयर बजारको दिगो सुधार अपेक्षा गर्न सकिन्छ । सेयर बजार घटबढ भइरहन्छ । यो बजारको सामान्य सिद्धान्त हो । लगानीकर्ताले कम्पनीहरुको आधारभूत पक्ष अध्ययन गरेर योजनाबद्ध ढंगबाट लगानी गर्न आवश्यक हुन्छ । 
नेप्से सूचक मंगलबार २३.३३ अंकले बढेर १२१२.०५ विन्दुमा आइपुगेको छ । बजार १.९६% ले माथि लागेको हो । १७० कम्पनीको ७४ करोड २७ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । २४ लाख ११ हजार ६५० कित्ता सेयर खरिदबिक्री भएका छन् । 
 
सूचीकृत १० वटा समूहको सेयर कारोबार भएको छ । जीवन बिमा समूह सबैभन्दा धेरै ८०.१९ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक पनि २९.४१ अंकले माथि लागेको छ । कारोबार रकममा एनएमबि बैंकले अग्रता लिएको छ । एनएमबिको ६ करोड ७० लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया र प्रभु बैंक परेका छन् ।