add

नबिल ब्यालेन्स फण्ड–२ को बिहीबारदेखि १२ करोड इकाई खुल्दै,एक करोड २० लाख इकाईसम्म भर्न पाइने

नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडले आगामी बैशाख ५ गते बिहीबारदेखि सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ (NBF2) को इकाई सार्वजनिक निष्काशन गर्ने भएको छ।

नबिल इन्भेष्टले प्रतिइकाई दश रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउने भएको हो ।
फण्डले निष्काशन गर्ने कुल १२ करोड इकाईमध्ये बिज पूँजी वापत न्यूनतम १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई छुट्टाएर बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणबाट निष्काशन हुनेछ।
दश वर्ष अवधिको यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । न्यूनतम १०० इकाईदेखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।
उक्त इकाई छिटोमा बैशाख ९ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने जेठ ३ गतेसम्म खुला रहने बिक्री प्रबन्धक नबिल इन्भेष्ट एण्ड बैंकिङ्गले जनाएको छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको व्यवस्थापनमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने उक्त नबिल ब्यालेन्स फण्ड–२ योजनाको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डले चैत १० गते अनुमति पाएको थियो।
घट्दो बजारमा निष्काशन हुन लागेको यस फण्डले न्युनतम पनि ५० प्रतिशत बिक्री गर्न नसकेको खण्डमा भने योजना नै खारेज हुने कानुनी व्यवस्था छ। यद्यपी बैंकले यसअघि जारी गरेर २०७४ चैत २९ गते परिपक्व भएको पाँच वर्षे अवधिको नबिल ब्यालेन्सड् फण्ड १ योजनाले भने २०७५ असार २७ गतेदेखि नै इकाईधनीलाई शतप्रतिशत लाभांश भुक्तानी गरिसकेको छ। यसअनुसार पनि यस फण्डको इकाई बिक्री हुनेमा कम्पनी विश्वश्त रहेको छ ।
नबिल कै अर्को ७ वर्षे योजना नबिल इक्वीटी फण्ड सञ्चालनमा रहेको छ। नबिल इक्वीटी फण्ड २०८० कार्तिक १८ गते परिपक्क हुनेछ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको व्यवस्थापन गरेको म्युचुअल फण्डको यो तेस्रो योजना हो। नबिलकै चौथौ सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ सहित ७ वटा फण्डहरु ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको ७७ करोड ५० लाख इकाई जारी गर्न अझै धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका छन्। हाल बजारमा १३ म्युचुअल फण्ड सञ्चालनमा रहेका छन् ।