add

केही वर्षमा निजी विद्यालय आफै भाग्छन्, प्रतिबन्ध लगाउनै पर्दैन– प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले
केही वर्षमा निजी विद्यालयहरु आफै भाग्ने
बताएका छन् । सामुदायिक विद्यालयको अवस्था
कमजोर रहेकाले नै निजीको दादागिरी चलेको
भन्दै अब त्यो लामो समय नचल्ने ओलीले दाबी
गरेका हुन् ।
'निजी विद्यालयलाई माया गरी पुल्पुल्याएर
पनि राखिन्न र प्रतिबन्ध पनि लगाइन्न'– ओलीले
भने, 'सामुदायिक विद्यालयको सुधार गछौं,
निजीहरु आफै टाप कस्छन् ।'
प्रधानमन्त्री निवास बालुवाटारमा उच्च स्तरीय
राष्ट्रिय शिक्षा आयोग – २०७५ को प्रतिवेदन
बुझ्दै मङ्गलवार ओलीले निजी विद्यालयहरुलाई
तत्काल बन्द गर्दा विद्यार्थीको चाँप
सामुदायिकले धान्न नसक्ने स्पष्ट पारे ।
विदेशी विश्वविद्यालयहरुले दिने विभिन्न
छात्रवृत्तिका लागि पनि सामुदायिक
विद्यालयको उत्पादनले नधान्ने भन्दै केही वर्ष
सामुदायिक विद्यालयको सुधारमा सरकार
केन्द्रीत रहने ओलीले बताए ।
अब सबैभन्दा उत्कृष्टहरुलाई शिक्षण पेशामा
भित्राइ उनीहरुलाई दक्ष र जिम्मेवार बनाइने
उल्लेख गर्दै प्रम ओलीले सामुदायिक विद्यालयको
जगै देखि सुधार गर्ने बताए ।
अब हरेक विद्यार्थीलाई आफ्नो क्षमता, प्रतिभा
र रुची अनुसारको विषय पढ्ने अवसर दिइने भन्दै प्रम
ओलीले शिक्षालाई समृद्ध नेपाल सुखी नेपाली
नारालाई सार्थक बनाउने दिशामा अगाडि
बढाइने स्पष्ट पारे । अब देशलाई माया गर्ने
शिक्षाको विकासमा सरकार जुटेको ओलीले
दावी गरे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
गिरीराजमणी पोखरेलले उच्चस्तरीय राष्ट्रिय
शिक्षा आयोगको प्रतिवेदन प्रधानमन्त्री
ओलीलाई हस्तान्तरण गरेका थिए । आयोगले
बुझाएको प्रतिवेदन बुझ्दै ओलीले यसको व्यापक
अध्ययन गरेर नीति कै रूपमा कार्यान्वयनमा लग्ने
स्पष्ट पारे ।
५ महिना ७ दिन लगाएर आयोगले
प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन सफल भएको
हो । आयोगले प्रतिवेदन यार पार्न २७ बैठक, १२
विषय क्षेत्रमा विभिन्न अध्ययन र छलफल, ४ हजार
बढीसँग छलफल र अन्तक्र्रिया गरेको थियो ।
शिक्षा विकास, शिक्षाको दूरदृष्टि,
शिक्षाको भावि मार्गदर्शन, राष्ट्रिय शिक्षा
नीतिलगायतको विषयमा सुझाब समेटिएको २७
परिच्छेदको प्रतिवेदनमा शिक्षालाई
पूर्वाधारको पनि पूर्वाधार बनाउन लगानी
वृद्धि गर्नुपर्नेलगायतका विषय अटाएका छन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले
प्रतिवेदनमा हिजोको शिक्षण केन्द्रित
शिक्षालाई सिकाइ केन्द्रीत बनाइने, शिक्षण
सिकाइलाई विद्यालयको बन्दकोठाभन्दा
बाहिर ल्याइन, प्रविधियुक्त सिकाइ र प्रतिभा
प्रस्फुटनका लागि सिकाइका लागि
शिक्षकबाटै सुधार गरिने विषय समेटिएका स्पष्ट
पारे ।
साभार: एजुकेसनपाटी