काठमाडौं २८ पुस / सिमान्तकृत
बालबालिकालाई विद्यालय आउँदा सरकारले
दिने खाजा कटौती भएपछि चितवनको
माडी नगरपालिकाभित्र पर्ने बाँदरझुलाका
आधारभूत विद्यालयमा विद्यार्थी संख्या
घटेको छ । बाँदरझुला सुकुम्बासी बस्ती हो,
जसलाई चितवन राष्ट्रिय निकुञ्जले
अतिक्रमित क्षेत्र भन्दै आएको छ । मकवानपुर र
चितवनका पहाडी क्षेत्रका चेपाङहरू पनि
बसोबासका लागि यहाँ पुगेका छन् ।
चेपाङजस्ता सिमान्तकृत आदिवासी
समुदायका बालबालिकाका लागि
विद्यालयमा दिउँसोको खाजा कार्यक्रम
सञ्चालन हुँदै आएको थियो । साउनयता
खाजाका लागि रकम आएको छैन ।
बाँदरझुलाका विद्यालयहरूले खाजाका लागि
आउने नगद नै विद्यार्थीलाई दिन्थे । ‘एक
जनालाई खाजा खर्च भनेर १५ रुपैयाँ आउँथ्यो ।
हामीले त्यही रकम विद्यार्थीलाई दिन्थ्यौं,’
जनजागृति आधारभूत विद्यालयकी सहयोगी
कार्यकर्ता पवित्रा गुरुङले भनिन् ।
बाँदरझुलामा शिशुदेखि कक्षा तीनसम्म पढाइ
हुने जनजागृति र श्रीदमार आधारभूत विद्यालय
छ । त्यसैगरी कक्षा ८ सम्म पढाइ हुने बाँदरझुला
आधारभूत विद्यालय छ । तीनवटै विद्यालयमा
चेपाङ बालबालिका छन् । खाजा कार्यक्रमले
चेपाङ बालबालिकालाई स्कुल आउन प्रेरित
गरेको थियो । रकम कटौती भएपछि विद्यालय
आउने विद्यार्थी संख्या घटेको शिक्षकहरू
बताउँछन् ।
‘यो सुकुम्बासी बस्तीका केटाकेटीलाई
स्कुलसम्म ल्याउनु नै गाह्रो काम छ । यहाँ
हजार घर बसोबास गरे पनि कमाउन इँटाभट्टा
र भारत सिमला तथा लद्याखसम्म स्याउ टिप्न
जानेहरू छन् । केटाकेटीहरू उनैको पछिपछि जाने
भइहाले । बसेकाहरूले पनि छोराछोरी
नियमित स्कुल पठाउँदैनन्,’ बाँदरझुला आधारभूत
विद्यालयका प्रधानाध्यापक आशिष गोपाल
परियारले भने ।
जनजागृति आधारभूत विद्यालयका
प्रधानाध्यापक डण्डपाणि पण्डितका
अनुसार शिशुदेखि तीनसम्म यो शैक्षिक
सत्रमा ५५ जना विद्यार्थी भर्ना भएका थिए
। अघिल्लो वर्ष भर्ना हुने ६५ थिए । खाजाको
लागि पैसा पाइने भएका कारण अघिल्लो वर्ष
स्कुलमा नियमित आउने विद्यार्थीको संख्या
५० बाट घटेन । यो पटक आधा विद्यार्थी पनि
स्कुलमा भेटिँदैनन् । स्कुल भर्ना भएका चेपाङ
बालबालिका २५ जना छन् ।
‘दसैंसम्म जेनतेन खाजाको रकम दिने गरेका
कारण ती लगभग दिनदिनै स्कुल आउँथे । दसैंपछि
खाजाको सबै पैसा सकियो । अस्ति
अर्धवार्षिक परीक्षा हुँदा निकै जोडबल
गर्दा पनि चेपाङ केटाकेटीलाई स्कुल ल्याउन
सकिएन,’ प्रधानाध्यापक पण्डितले भने ।
श्रीदमार आधारभूत स्कुलको अवस्था पनि
यस्तै छ । त्यहाँ शिशुदेखि कक्षा ३ सम्म १ सय
१४ विद्यार्थी छन् । जसमा ८८ जना चेपाङ
समुदायका बालबालिका छन् ।
‘हामीले चेपाङ बालबालिकालाई स्कुल
आएका दिन १५ रुपैयाँ नगदै दिने गरेका थियौं ।
पैसा बुझ्न पाउँदा बालबालिका रमाउँथे,
नियमित स्कुल आउँथे । अहिले खाजाको पैसा
कटौती भएका कारण ८८ जना चेपाङमा ५०
जना पनि नियमति छैनन्,’ श्रीदमार स्कुलका
शिक्षकममता महतोले भनिन् । विद्यालय
व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर
चेपाङ खाजा सहयोग कटौतीले विद्यालय
आउने संख्या घटेको स्वीकार गर्छन् ।
‘चितवन र मकवानपुरका पहाडमा बसेका चेपाङ
त्यहाँ पहिरोले घर खेत सबै बगाएर र पुरेपछि
यस्तो अनकन्टार जंगलभित्र आएर बसेका हुन् ।
सन्तान पढाउनुपर्छ भन्ने चेतना नपाएका
अभिभावक धेरै नै छन् । खाजाको लोभले स्कुल
आउन प्रेरित गरेको थियो । त्यही नै बन्द
भएपछि आउन छाडे,’ अध्यक्ष भक्तबहादुरले भने ।
पौने चार सय विद्यार्थी पढ्ने बाँदरझुला
आधारभूत विद्यालयमा पनि चेपाङ
बालबालिका ७० जना छन् ।‘जंगलभित्र जेनतेन
घर बनाएर बसेकाहरू छन् । खेती राम्रो हुँदैन ।
आयस्रोतको अरू भरपर्दो माध्यम पनि छैन ।
यस्तो बस्तीमा चेपाङको अवस्था झनै कमजोर
छ । उनीहरूका बालबालिकालाई विद्यालय
ल्याउन र कक्षामा टिकाउन सुरु भएको खाजा
कार्यक्रम अवरुद्ध छ । खाजा नपाएपछि स्कुल
नआउने धेरै छन्,’प्रअ परियारले भने । विपन्न बहुल
बस्तीमायस्ता कार्यक्रमहरूले निरञ्तरता
पाउनुपर्ने उनको मत छ ।
तत्कालीन जिल्ला शिक्षा कार्यालय र
हालको जिल्ला शिक्षा विकास तथा
समन्वय इकाई भरतपुरका सूचना अधिकारी हेम
शर्मा पौडेलका अनुसार तीन शैक्षिक
सत्रअघि खाजा कार्यक्रम सुरु भएको हो ।
शिशुदेखि पाँच कक्षासम्म पढ्ने सिमान्तकृत
समुदायका बालबालिकाले खाजाबापत्
सुरुमा १२ र पछि १५ रुपैयाँ प्रतिदिन पाउने
गर्दथे । २२ जातिले पाउने यो कार्यक्रम
चितवनमा भएका चेपाङ र बोटे
बालबालिकाले पाएका थिए ।
चितवनमा खाजा कार्यक्रमका लागि वर्षमा
पौने दुई करोड रुपैयाँको हाराहारीमा बजेट
आउने गर्दथ्यो । ‘अहिले हाम्रो कार्यालयमा
पनि यो शीर्षकमा बजेट छैन । स्थानीय तहमा
बजेट जाने भनिए पनि गएको छैन,’ जिल्ला
शिक्षा विकास तथा समन्वय इकाईका सूचना
अधिकारी हेम शर्मा पौडेलले भने ।
चेपाङ विद्यार्थीको खाजा कटौती
शिर्षकमा कान्तिपुरमा रमेशकुमार पौडेलले
लेखेका छन् ।
