add

माध्यमिक तहको शिक्षक हुन स्नातकोत्तरमा प्रथम श्रेणी वा बी प्लस

काठमाडौं/ ८ पुस– माध्यमिक तह (कक्षा ८–१२) को
शिक्षक बन्नका लागि तोकिएको विषयमा
स्नातकोत्तरमा प्रथम श्रेणी वा बी प्लस वा सोभन्दा
उच्च ग्रेड हुनुपर्ने उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले
तयार पारेको मस्यौदा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी, मस्यौदामा अहिलेको विविध प्रकारका
माध्यमिक शिक्षक दरबन्दी व्यवस्था खारेज गरी स्थायी र
अस्थायी (अर्थात् एक वर्षे आवधिक करारका रुपमा) मात्र
व्यवस्था गर्ने, युद्धस्तरमा विषय शिक्षक दरबन्दी
आपूर्तिको सम्पूर्ण खर्च जुटाउनका लागि संघ, प्रदेश र
स्थानीय सरकारले क्रमश ७०, १५ र १५ प्रतिशतको
अनुपातमा स्रोत जुटाउने नीति अबलम्बन गर्ने कुरा उल्लेख
गरिएको छ ।
आयोगले कुनै पनि विद्यालयमा एक जना शिक्षक कार्यरत
रहने अवधि बढीमा पाँच वर्षको बनाउने र त्यसपछि स्वतः
सरुवा गरिने नीति ल्याउन सरकारलाई सुझाव दिइएको छ ।
शिक्षक पदमा महिलालाई विशेष ग्राह्यता दिने र दलित
वस्ती सघन भएको हरेक विद्यालयमा एक जना दलित
शिक्षक अनिवार्यरुपमा हुनुपर्ने मस्यौदामा उल्लेख
गरिएको छ ।
त्यस्तै, शिक्षकको तलब सुविधा वृद्धि गरिने भएको छ ।
मस्यौदा प्रतिवेदनमा शिक्षकको तलब सुविधामा उच्च
वृद्धि गर्ने कुरा समेत उल्लेख गरिएको छ । ‘माध्यमिक वा
अन्य विद्यालय शिक्षक पदमा मेधावीहरुलाई आकर्षण गर्न
शिक्षकको बेतनमान र सुविधालाई सोही योग्यताको
सरकारी पदमा रहेका व्यक्तिले पाए भन्दा १० प्रतिशत
बढी बनाउने ’ मस्यौदामा उल्लेख छ ।